“तिमी घटनाले पागल बनायो भन्छौ, भाग्यले पेल्यो भन्छौ । तर पागल हुन कहाँ सजिलो हुन्छ र ? यहाँ चार पीरमा तपेर कोही पागल हुँदैन । पागलपन को ढोंग गर्छन । फोस्रो दु:खलाई म पागलपन मान्दिन। मान्न पनि हुदैन । पागलनपन नशा हो । नशा हो पागलपन, नशा! यो प्राप्ती हो, निर्वाण हो । यहाँ बिषय हुँदैन, परिवेश हुँदैन। छन्द पनि हुँदैन न केहि कथा हुन्छ । पागलपनि अनियन्त्रित हुन्छ, फुक्का हुन्छ । यो बग्दछ, उड्छ, लड्छ, जे पनि हुन्छ । यस्सै हुन्छ भन्ने लख काट्न मिल्दैन । यहाँ विचारको गोठालो हुँदैन । यहाँ वादि र परिवादि हुँदैनन् । यहाँ त तरंङ्ग र शान्तीको अलौकिक सम्भोग हुन्छ । यो शुद्ध हुन्छ । सबै जीवित प्राणी पागल हुन्। खालि हामी पागलपनलाई कैदि बनाई दिन्छौं । यसलाई बाँधी दिन्छौ । । यसलाई मार्न खोज्छौं । तर यि सब मिथ्या कडी हुन । पागलपन कहिले मर्दैन । तिमी मार्नै सक्दैनौ । यो त अजम्बरी हुन्छ । जुन दिन तिमी भाग्यमानि हुन्छौं, तिमीले आफू भित्रको पागललाई स्वतन्त्र छोड्न सक्दछौ । अनि तिम्रो जीवन शुरु हुन्छ । तिमीले जीवन भोग गर्छौ । सबै खुशी हुन्छन् । संसार सुखि हुन्छ । रात पर्यो चरा हरु आए होलान । मैले गोहोरो मार्नु छ । औंशी २ दिनमा छ । गोहोरो मरेको छैन । गोहोरो ले गैडा खान्छ । गोहोरो, गोहोरो गोहोरो.. ।” पागलपनको गहिरो बुझाई पस्किदा पस्किदै, उ फेरी पागल बनिदियो ।
****************************************************************************
जेनतेन धानिएको झोलुङ्गे थियो । पारीको गाँउ, उज्यालामा जाँदा सबैले चिन्थे । रात पार्न पर्यो । तित्रीको बोट तल छलिएर हामी जुटपत्ती खेल्न थाल्यौ । कात्तिक अन्तिम थियो, तर पनि साँझ परिसकेको थिएन ।
“अलच्छिनिले फेरी जुत्ता उल्टाएर राख्यो”
राजन फेरी करायो । खासमा पार्टीमा उसको नाम ‘अठोट’ थियो । तर म पार्टी परम्मपरा सँग त्यती अभ्यस्थ भईसकेको थिइन । मलाई राजन नै अभ्यस्थ थियो। पार्टीले हामीलाई पहिलो महत्वपूर्ण जिम्मेवारी दिएको थियो । म पार्टीमा काँचै थिए, धेरै भएको थिएन । राजनकै बल र मेरा अरु तमाम कारण थिए, पार्टीमा लाग्न । राजन लागेको धेरै भइसकेको थियो । उसलाई जिम्मेबारी थियो । काम गलत हुनु थिएन । जनताले जनताका लागि गरेको लडाँई, त्यो हाम्रो आफ्नो लडाँई थियो । म नौलो थिए ।
रात पर्दा नपर्दै हामी उनका आगँन म पुग्यौं । राजन अलि परै बस्यो ।
“पहिले तँ नै बोला । म जाँदा शुरुमै लुक्ला”
म प्रतिवाद नगरि गए । २-४ पटक बोलाए पछी मात्रै बुढी चाँहि निस्किन् । मैले लोग्ने भेट्न छ भने । अनकनाईन् । वाद-प्रतिवाद भयो, मैले काम छ भने । उपाए केहि लागेन । बिस्तारै बोलाइन् । लोग्ने निस्के । सर्ट, प्यान्ट र टोपी, सधैं को लवाई । उस्तै थिए । दाह्री बढेका, अनुहारमा अनिश्चिता र भयको नराम्रो लेप । दु:खी देखिएका थिए । मलाई सरोकार भएन । बिस्तारै राजन पनि आयो आँगनमा ।
“कान्छो, तँ एक्लै आएको होईन । फेरि साथी छ त!!”
बुढी कराउन थालिन् ।
बुढा कामे झैं देखिन थाले । हामीलाई धेरै विवाद गर्न थिएन ।
“तँपाई सँग सल्लाह गर्न छ, एकछिन उता जाउँ !”
मैले यति भन्दै राजन उनी पछाडि गएर उभिइसकेको थियो ।
उनलाई हामीले बोलायौं । मलाई राजनसँग देखेर डराए । बुढालाई बोल्न गाह्रो भयो । बुढी निकै अत्तालिएर बोल्न थालिन् । वहाँलाई सन्चो छैन, बाहिर जान हुँदैन, यहि कुरा गर्नु ईत्यादी ।
“तपाई हामीसँग हिड्नु त, सल्लाह गरेर छिट्टै फर्कनु । अहिले यहाँ बहस राम्रो हुँदैन ।”
राजनले यति भनेर उनको पाखुरा समात्यो । बिवश भएर बुढाले गह्रौं पाईला चाले ।
हामी बुढिका कुरा नसुनि सल्लाह गर्न लिएर गयौं ।
******************************************************************************
‘ओइ, खुजुरा पैसा छ? दे न’
म आज फेरि त्यहि चियापसलमा थिंए । उ फेरी आईपुग्यो - बुढो पागल ।
‘किन चाहियो पैसा? गफ गरौं न अनि दिउँला’
‘मस्यौरा छ?’ उ जथाभावि को छाँटमा थियो । मलाई हिजोको जस्तो गफ गर्न थियो ।
‘चिया खाने? पैसा दिन्छु’
उ मान्यो । दोकान मा खासैकोहि थिएनन् । म पर मुढामा बसे । उसलाई राखेको बसेन ।
‘घर कहाँ हो तिम्रो?’
‘घरको जहाँ बनायो त्यहि हुन्छ । गाउँमा बनाए गाउँमै हुन्छ । बिदेशमा बनाए बिदेशमै हुन्छ । तर मन जहाँ पनि जान्छ । तर घर र मन फरक हुन् । घरले सुख दिन्छ । मनले दु:ख पनि दिन्छ । घर ठिङ्ग्रिङ्ग उभिइदिन्छ, तिम्रा लागि । मन यता उता उडि दिन्छ । तर कतै जाने हुति हुँदैन, सक्दैन । घर सत्य हो । मन हार्छ, हार्न पर्छ । फर्किने घरमै हो । राख्ने घरले नै हो । तिमी संसार घुम, डुल, बाह्र ब्रम्हाण्डमा मनलाई डुलाउ । मन शान्त हुन सक्दैन । तिमीलाई छट्पट हुन्छ । घरले शान्ती दिन्छ, माया दिन्छ । यो चुपलागेर बसिदिन्छ, तिमीलाई साथ दिन्छ । चुहुने होस, उदाँङ्गो होस, घर घर हो । यो आश हो, यो जीवन हो । मन चुहुने होस त, मन उदाँङ्गो होस त! तिमी बौलाउँछौं, पागल हुन्छौं । म पनि पागल तिमी पनि पागल ।’
चिया पाउरोटि आयो । उसले चिया पोखायो । अलिकति जिउमा पोल्यो । पाउरोटी घिनलाग्दो समातेर खायो । अनि हिड्यो । बेला बेला उफ्रन्थ्यो । म तिर फर्केर हेरेन । आज उ छिट्टै हिड्यो ।
म अर्को भेट को आशमा लागे ।
पसलकी दिदीले गिलास उठाउनु भयो ।
‘भाईलाई यो पागलको गफ सुन्न खुब रमाईलो लाग्छ कि क्या हो ।‘
होईन, कुरा त गजब का गर्छ त ।‘ म नियमीत मान्छे देखीन खोज्दै भने
खोइ, के के कुरा गर्छ । तर पीर ले बौलाएको भन्नछन ।
**********************************************************
‘सबै बाबुको बुवा र मैले मिलेर गरेको हो ।’ बाबुलाई जे जति लान इच्छा छ लैजानु ।‘ मलाई छोडिदिनु ‘।
उनि बाटो मा निकै बिलौना गरि रहे । कुरो भए अनुसार हामीले उनलाई उपयुक्त ठाउँमा लग्यौं ।
उनि सँग बहस गर्ने अधिकार म सँग थिएन । म खासै बोलिन ।
सायद, आफ्नो पतन जब मानिसले पर क्षितिजमा देख्दछ, तब सम्पत्ती को लगाव छुट्छ । उनले त्यो घर खेतको खुब माया गर्थे। छिमेकि सँग बर्षौं अदालत धाएर भएपनि एक भित्ता साँध जोगाएका थिए । तर त्यो बेला उनलाई आफ्नो ज्यान प्यारो भयो, परिवार प्यारो भयो । जस्तो भएपनि आफ्नै भविष्य प्यारो भयो । तर उनि पहिले नै अपराधी प्रमाणित भईसकेका थिए । उनले उनका कर्म गरिसकेका थिए । छिनको बिलौना ले पार्टिको निर्णय परिवर्तन हुँदैन थियो ।
निकै रोए, मतिर आउन खोजे । कुटिए । लछारिए । अझ छोडेनन् । अझ कुटिए । यो क्रम चलिरह्यो । मलाई निकै रिस थियो । समस्त देशको विकास रोकिएको यिनै जस्ता सामन्तिले हो । मन कोमल हुन दिईन, एउटाको माफि नजिर बन्छ । देश बिकासमा बलिदान नभए कसरी देश बिकसित हुन्छ? सयौं बर्षदेखि देश अँध्यारोमा भएको यिनै जस्ता पापीले हो । मेरो बुझाई त्यहि थियो । मेरो मन कठोर बन्दै गयो । म उनलाई सजाय दिन थाले । मैले मेरो समाजलाई “न्याय” दिन थाले ।
मेरो बुवा झरिमा मरि-मरि उनको खेत जोत्दा उनि छाता ओढेर स्कूल पढाउन जान्थे । त्यो बेला मैले त्यहि संझे। मेरी आमा, हामी दाजुभाई फाटेका घुम ओढ्दै धान रोप्दा, उनकि दुलहि, बचेरा तातो चाउचाउ को झोल खाँदै टिभि हेर्थे । त्यो बेला मलाई त्यो फाटो सहय भएन । अझ पनि खेत उनको हामी मोहि पनि नपाउने? कत्रो सामन्ती सोच? एउटै देशका मानिस, एउटै समाजका सदस्य, तर बिचमा कत्रो खाडल? यो खाडल रहिरहुन्जेल देश बिकास कहिले हुँदैन । समाजमा यस्ता सामन्ती मास्टरको खास्टो ओढेर बसुन्जेल यो खाडल पुर्न दिदैनन् । यस्ता पाखण्डीले पढाएर कस्तो शिक्षा बाँड्छन्? मेरो रिस चुरिदै गयो । जति रिस बढ्थ्यो उति म उनलाई लात्ताले, बन्दुकको फेरले हान्दै गए । उ रुदै बिलौना गरिरहे । यो समाज यसै परिवर्तन हुँदैन । यहाँ तप्न जरुरी छ । तर मन पग्गिन हुन्न, क्रान्ती तुहिन्छ । त्यो बेला मेरो सोच त्यहि भयो । यो सामाजिक क्रान्ती हो । मेरो मन कमलो हुनुको साटो, झन दृढ र प्रस्ट हुँदै गयो । मैले हाम्रा सारा सामाजिक, भौतिक र आर्थिक समस्याको जड त्यहि मास्टर देखे ।
**************************************************************************
‘कस्तो पीर दिदी?’ मलाई उत्सुकता भयो ।
‘खोइ जागिरे थिए अरे । घर ब्यवहार मा त्यती मन नभएका बाहिर चहार्दै हिड्ने । बिदामा पनि
खासै घर नआउने खालका ।’
‘अनि के भएछ त?’
‘सबै ब्यबहार दुलहिले गर्थिन । असल, मिजासीलि थिइन् भन्थे । जति नै दु:ख कष्ट दिए पनि एकोहोरो माया गरिरहने । ३ वटा सन्तान थिए भन्छन ।‘
‘अनि’
‘यि दशैंमा पनि घर आएनछन्, बुढी चाहि छोरा छोरी लिएर टिका लाउन हिंडेकि । बस खसेर एकै चिहान भएछन ।’
‘पीरले बिरामी भए यि । ४ जनाको लास जलाईसकेपछी, खोलादेखि नै यस्ता भएका अरे । किरिया
पनि कसैले गरेनन् क्यार !’
अब मलाई घर र मन को फरक प्रष्ट थाहा भयो । म चुप लागें । एकचोटी फेरि त्यो पागल बुढो भेट्न मन भयो ।
************************************************************************
हलो जोत्ने मेरा बा मरिसकेका थिए । उपचार हुन सकेन । यिनै मास्टर ले गराएनन् । घर खेत अँधिया दिएपछी कामगर्ने मान्छे बिरामी हुँदा चौकि लगेर सिटामोल किनेर दायित्व सकिन्छ र? तिनले त्यस्तै चलन चलाएका थिए । कत्रो घनघोर सोच । मलाई त त्यो ठाडो ठगि स्विकार नै भएन । धन्न पार्टीले मेरा आखा खुलाए । सत्र बर्षसम्म म अँध्यारोमा भए । मेरा बा बिते । आमा को स्थीति उसतै छ । उनि भन्न छोड्दिनन् मास्टर ले हामीलाई हेरेका हुन पाप नचिता भनेर । पाप यहाँ कसले चिताएको थियो प्रस्ट थियो । यस्ता सामन्तिलाई एक होईन हजार जुनि मिले पनि हजारै चोटिको सजाय पनि अधुरै हुन्थ्यो । मलाई त्यो जरुरी लाग्यो । समाज ले सिक्न थियो । सामन्तिलाई सिकाउन थियो । बिडम्बना, मलाई त्यो बुझाई नै सत्य लाग्यो । त्यो संघर्ष नै जायज लाग्यो!
उनि बिलौना गरिरहे । मैले लात्ताले उनको मुखमा हाने । नाक भाँच्चिएछ । रगत निकाले । म शुरिएको थिए । उनि धुलै मैलै भएसकेका थिए । उनि बाबु नगर, मेरो सबै लैजाउ मलाई छोडिदेउ भन्दै गए । कुरो त्यहाँ लैजाने र छोड्नेको थिएन । अन्याय र अपराधिको थियो । मैले त्यस्तै देखे । मैले उनका खुट्टा भाँचे, उनि प्रचुर बेदनामा कराए । रात जुनेलि थियो । हामी गाउँ भन्दा निकै तल थियौ । कसैले सुनेन होला । सुने पनि यहाँ आउने आँट कसको । मैले एकै चोटि उनलाई मारिन । बालापन देखि सत्र बर्ष सम्मको एक-एक अन्याय, एक-एक फाटो, हेपिएका एक-एक अंशको सजाय दिंदै गए । उनको बोलि हरायो । कराउन छोडे । बिस्तारै अचेत हुँदै गए । बन्दुकका फेरले टाउकामा हान्दा चलमलाएनन् । राजन करायो, ‘मरिसको अब नहान, बरु हिड् यसको बन्दोबस्त गरौ ।‘
म बल्ल होशमा आँए । ओहो, परशुराम सरलाई पो मारियो त ! हो त्यहि क्षण मलाई ग्लानी भयो । एउटा शूल मनमा गढ्यो । म स्वतन्त्र हुन सकिन । पार्टी परिवेशले छोप्यो तर पनि म त्यो क्रान्तीमा दत्तचित्त हुन सकिन ।
कहिलेकांही कठोर घटना को दुखाई तुरुन्त हुँदैन । म दिनचर्यामा लागे। शुरुमा गढेको शूलले मलाई त्यस्तो पिरोलेन तर भित्र भने बसिरह्यो । गहुँ पिंसिदा दुईचार घुन त पिसिइहाल्छन नि! फेरि ति परशुराम सर महान आत्मा पनि त थिएनन् । मन त्यस्तो गह्रौं भएन, विचारहरु सन्तुलित नै रहिदिए । म जेनतेन पार्टीका भुस्याहा जिम्मेवारी धान्न लागे । ब्यस्तता बढ्यो । मनको घाउ त्यस्तो कटकटिएन ! काम अब्बल गरिएन, तर काम भन्दा टाउका गन्ने खेलमा म पनि गनिए ।
अहिले एक किसिमले क्रान्ती त सकियो, तर मेरो समाज उस्तै छ । खालि पात्र फेरिएका छन् । दाईले बिदेशीबाट फर्केर निकै जग्गा किनेछ । आफू किराना पसलमा बस्छ, जग्गा अधिँया लगाएको छ । मलाई त्यो परशुराम सरको खिल ले अचेल निकै सताउँछ । म स्वतन्त्र छैन। म दु:खी छु । म आफ्नै मनको घाउले तपिरहेको छु । विचार र सिद्धान्त पनि कति सापेक्षिक भइदिएका, घटिमा मेरा लागि । हिजो सम्म समाज कल्याणको कडि लागेको एउटा घटना जीवनको एक अध्याय पछी आज मलाई घोर पाप लागेको छ । म यसैमा डढिरहेको छु । मलाई पोलेको छ, सहिनसक्नु भएको छ ।
*************************************************************************
‘दाई, चना तरकारी खाने? पैसा दिन्छु ।“
म उसकै ताकमा थिए । उ घुम्दै फिर्दै त्यहि चोक मा आईपुगेको थियो । केहि फत्फताएर उ बस्यो । मेरो कथा सुन्नु है दाई। यति भनेर मैले मेरो मन निमैषमै उनका अगाडि पोखे!
एकछिन बोलेनन् । चना आयो, उनले गोजिमा हाले । तर त्यो बेला उनका भाव भन्दा पनि उनको कथा सुन्नु थियो । उनका भोगाईबाट । उनको मनबाट । म तौलिन खोज्दै थिंए उनका र मेरा दु:ख । उनको र मेरो पीर!
‘आकाश हिजो पनि खसेको थियो, आज पनि खसेको छ, भोलि पनि खस्ने छ । डराउने कि नडराउने तिम्रो इच्छा हो । तिम्रो रोजाई हो । त्यो तिम्रा लागि पागल हो । मेरा लागि उडेको त बादल हो । एउटा आकाश छ, दुईटा आकाश छ भने खसेर सकिएला । किचेर मार्ला । आकाश त गन्तिमा हुँदैन । यसको वजन हुदैन । यसको त रुप हुँदैन, त्यहि भएर आकाश हो । यो धर्ती जस्तो होईन - साह्रो, बन्द र कपटी । धर्तिको पोल्टामा के छ तिमी लाई थाहा हुन्न । धर्ती कुण्ठित हुन्छ । यसैले यो रोगी छ । आकाश खुल्ला हुन्छ । यसको न केहि हुन्छ, न केहि लिन्छ न दिन्छ नै । धर्ती एकदिन नासिन्छ । आकाश त अजम्बरी हुन्छ । आकाश अजम्बरी, अजम्बरी आकाश ।‘
अघि सम्म गह्रौ भाका बोलिरहेको उ अचानक कुद्न थाल्यो । माथि को गन्जी फुकाल्यो, अलि पर पुगेर मलाई हेर्यो । “पख तलाई म मार्छु” अनि फेरि आफ्नो च्यातिएको जाँघे पनि फुकाल्यो - निर्बस्त्र । उसको पुरुष लत्रिएको थियो । काछ, तिघ्रामा कत्लैकत्ला । फोहोरि देखीयो । पर सम्म पुगेको थियो । भुराहरुले उसलाई खेदाए । एकछिन भाग्यो । अनि बाटाको ढुँङंगा उठाएर भुराहरु तिर फाल्यो । भुरा भागे । म तमास ले उलसाई हेरी रहे । उसको बोली सोचि रहें, उसकै शब्दमा हराए । उ त्यहाँ थिएन ।
उ नभएपछी मैले उसका भाका तौलिए । मलाई लाग्यो उ मात्र पागलपन को ढोंग गरि रहेको छ । उ ढोंगी हो, उ नाटक मात्र गर्दैछ । उ पनि स्वतन्त्र छैन, आफैसँग छल गरिरहेको छ । उ पागल होईन । म झन छर्लङ्ग भए।
म अझ संझन्छु, परशुराम सरले पढाएको । पृथ्वी गोलो छ भनेको । गोलो पृथ्वी आफू घुम्दै सूर्यको वरिपनि घुमेको । दिन र रात को कथा । पानीको सतह एउटै हुन्छ तरपनि पर क्षितिजको जहाज देखिदैन । वर-वर आउँछ, अनि देखिन थाल्दछ । मेरो बुझाई गोलो रहेनछ, मैले जहाज कहिले देखिन ! अहिले म जति घुमे पनि मेरो मनमा रातको रात नै छ । मैले सोचेरे घुमेको सूर्य कहिल्यै त्यहाँ रहेनछ!
यति नै !
कथाकार: meaninglessthinkings@somewhereondearth
0 comments:
Post a Comment