Web Developer Based on Nepal

Subscribe For Free Updates!

We'll not spam mate! We promise.

Advertisement

Find us on Facebook

Saturday, January 11, 2014

Saturday Story: Saruwa

Advertisement

Dignity Trekking and expeditions Nepal Travel Door Travels and Tours

प्लेनले ढिला गरेन । ३ नबज्दै सरोज जी बिराटनगर एयरपोर्टमा थिए । उनलाई लिने गाडी आइपुगेको थिएन । रिक्साको तानातानबाट उम्किएर उनि पारि पट्टिको खाजा खाने छाप्रोमा छिरे । गाडी आउन अझै समय थियो । पर्खिने विचार गरे । उसो त ओभरसियरलाई प्लनेमा हिड्ने सुविधा थिएन । पुराना भरपर्दा प्राविधिक, इच्छा विपरित सरुवामा परेकाले हाकिमले आनाकानि नगरी सहमति दिएका थिए । 
सरोज जी प्रशन्न देखिएका थिएनन् । चिया आइपुग्यो । चुरोट सल्लाएर उनि छाप्रोको झ्याल बाहिर टोलाउन थाले । उनका विचारहरु नियन्त्रित थिएनन् । चुरोट तनाई पनि ढिलो थियो । विचारहरु घरि यता खेल्थे घरि उता । चिया सकिन बाँकि नै थियो । एउटा लामो सर्को तानेर चुरोट निभाए, अनि बाहिर टहल्न थाले । अफिसको गाडि आई पुग्यो । झोला पछिल्तिर मिल्काएर उनि ड्राईभरसँगै को सिटमा बसे ।
‘नारायण जी कता हुनुहुन्छ?’
‘आउँछु भन्दै हुनुहुन्थ्यो, खोई कता फल्ट भएछ, हेर्ने थाल्नु भयो । अबेर होला भनेर म यता आंए ।‘
‘ए ए, अनि हाकिम साहेबहरु नि?’
‘१ जना सर काठमाण्डौं जानु भएको छ, अरु त यहि हुनुहुन्छ ।‘
गाडि कन्चनबारी हुंदै दुहबि तिर बढ्यो । सरोज जी झ्याल बाहिर एकोहोरिए ।

उनले विश्वास नै गरेका थिएनन् , हल्ला हल्ला मै सरुवा भयो । हाकिमले पनि त्यति राम्रो मान्थे, उनि त पर्दै नपर्नु पर्ने सरुवामा । ‘युनियनको राजनिति हो सबै । युनियन लाएर सरुवा गराएका हुन् ।‘ उनको शंका यहि थियो । ‘राजनिति गर्ने हरु नै अगाडि बढ्छन् यो देशमा । प्राधिकरण त्यसै डुबेको हो र! कति मजाको घर पाइक जागिर, देखी सहेनन् असति हरुले ।‘ साह्रै रिस उठेको थियो उनलाई ।
‘आखिर ओभरसियरमा काम गरेको ७ बर्ष भईसकेको थियो । कतै का. मु. दिएर पठाएका भए पनि पछि छोरो पढाउने खर्च बन्थ्यो नि । दुहबि पठाइ दिए , न केहि न केहि, सुख्खा तलब । मरिहत्ते गरेर त अब काम गर्दिन् । जसो तसो १ बर्ष कटाएर काज सरुवा भएपनि गराउँछु ।‘ गाडी दुहबी पुगिसकेकै थिएन् सरोज जी ले मनमनै अठोट गरिसकेका थिए । उनि अलिक हलुका भए । 
‘सर, एकै छिन है ।‘
दुहबीबजारमा ड्राईभरले ‘डवलमजा’ किने ।
‘सर लिने?’
खासै अम्मल नभएपनि उनलाई खान मन लाग्यो ।
‘डबलमजाको’ रन्को संगै गाडी दुहबीको विद्युत अफिस पुग्यो । 
नारायणजी अफिसमै रहेछन्, उनि आइपुगे ।
‘हेर्नु न लिन आउंला भन्दै थिए, सरले बोलाउनु भयो, अनि गाडी पठाईदिए । राम्रैसंग आइपुग्नु भयो नि?’
‘होईन, ठिकै छ । आईपुगिहाले नि ।‘ ड्राईभर र नारायणजीका कुरा बाझे पनि उनलाई त्यति अफ्ठ्यारो लागेन । 
नारायणजीका पछि लागेर उनि हाकिम भेट्न गए । औपचारीक भलाकुसारी पछि नारायणजीले उनलाई गेष्टहाउसमा पुर्‌याईदिए अनि बेलुका खानाको निम्तो संगै केहि समयलाई बिदा भए ।
गेष्ट हाउसमा कोहि थिएनन् । ‘हाकिम त चिनेकै हुन्, तर मान्छे अलि ठिटौले छन् ।‘ सरोज जीलाई कामको त्यस्तो पिरोलो थिएन । ‘डेरा खोज्न नारायण जीलाई नै भन्नु पर्ला ।‘ चुरोट सल्काउँदै उनले आफै संग सल्लाह गरे । 
६ बजि सकेको थिएन, नारायणजी मोटरसाईकलमा आईपुगे । 
‘तपाईलाई पनि उत्ति चल्दैन, मेरो पनि सासु आउनु भएको छ, बरु कुनै दिन सेकुवा खान बिराटनगर जाउँला आज सोझै जाउँ है?’ नारायणजीले आफ्नो समस्या राखे ।
‘होईन पर्दैन, अचेल छोडिएको छ, खासै खान्न ।‘
४ बर्ष संगै काम गरेका हुनाले नारायणजीको परिर चिनेकै थियो । खासै अफ्ठ्यारो भएन । यता उताका हाल खबर पछि सरोजले बिस्तारै डेराको कुरा उप्काए । तर नारायणले बीचैमा कुरा काटे ।
‘हेर्नुस, डेरा खोज्न पर्दैन । त्यो अर्को चाहि ईन्जिनियर छ नि, त्यसको सरुवा भइसकेको छ , काम कुरो मिलाएर २०-२५ दिनमा रवाना बुझ्छ होला, त्यतिन्जेल गेष्टहाउसमै बस्नुस, अनि क्वाटर्रमा सर्नु होला ।‘
‘हाकिमले देलान र?’
‘नदिएर हुन्छ? एक वचन सोधौला, नमाने हामीले जानेको छ । सोझो भएर संधै पेलिन हुन्न सरोज जी ‘ 
‘कुरो त ठिकै हो तर खै?’
‘ होईन दाजु, यी हाकिम नरम नै छन् ।‘ नारायणकि दुलाहिले पनि कुरा थपिन् । 
सरोज भलादमी र भरपर्दा मान्छे थिए । सगै बस्दा नारायणलाई राम्रो सहयोग गरेका थिए । काम मा पनि पारिवारि रुपमा पनि । सरोजको गैर मनासिव सरुवा र त्यसबाट परेको असर उनका हितैषीलाई थाह थियो । नारायण त झन नजिक का मान्छे। 
सरोज केहि दिन गेष्टहाउस मा नै बसे । पढाइको बेला को कुरा अलग, तर बिहेबारि पछि उनि सधै जहान सँगै बसेका मान्छे । यता उताको खासै अम्मल नलिएका, आचरंणमा बसेका । तराईको पानि पचाउन सकेनन्, बजारको खाना ले सरोजलाई राम्रो गरेन । रुचि पनि भएन । साथी भनेका नारायण जी नै थिए दुखेसो पोखे, राम्रो खाने ठाउँको बन्दोबस्त गरिदिनु पर्यो भनेर । 
‘एउटा ठाउँ त छ, तर एक चोटि नसोधि हुदैन । पहिले म कुरा गर्छु अनि तपाईलाई भनौला है!’
नारायणजीले झिनो आशा देखाए । 


‘हाम्रै राम बाजेका आफन्त हुन रे । खाना त ठिकै छ भन्छन् , तर बजार पारि छ । टाढा हुन्छ होला तपाईलाई ’ एउटा चिया बसाईमा नारायणले कुरा निकाले ।

‘के भयो र टाढा भएर, हतार केहिको छैन बिस्तारै हिडौला नि!’ सरोजलाई बजारको खानाले दिक्क बनाईसकेको थियो ।

सरोज ले खाना खाने ठाउँ पाए, थोरै मान्छेले मात्र खाने, राम्रै थियो ।

सरोज धेरै बोल्न नरुचाउने, गमक्क परेका मान्छे थिए । सधैं भादगाउँले टोपी लगाउँथे । खाने ठाउँका नियमित गफमा उनी त्यति लाग्दैन थिए ।

‘सरहरुको त राम्रो छ नि, २-३ बर्षमा एक एउटा घर बन्छ, हाम्रो पो गाह्रो ।‘ अरु अफिसका कर्मचारीले कहिले कांहि ब्यंङ्ग हान्दथे । सरोज मुस्काई मात्र रहन्थे । हुन पनि नारायणले बिराटनगरमा नै २ वटा घर बनाएको हल्ला थियो । सरोज ले सोध्न मनासिब ठानेनन् । जरुरी पनि लागेन ।

सरोज को अफिस चल्न थाल्यो । उनको बिहान पत्रिकामा बित्दथ्यो । चुरोट तनाई बढेको थियो । ‘डबलमजा’ उनको पनि बानि बन्यो ।

जीवनमा हामी कति कुराहरुको, अवस्थाहरुको प्रभावहरु यस्ता बनाइदिन्छौ, हामीलाई पारि पट्टिको आयाम छुन मन लाग्दैन् । हामी नै त्यसलाई झन् झन् अफ्ठ्यारो बनाइ दिन्छौं । आफ्नै नियमित आयामहरुमा सन्तुष्ट भइदिन्छौ । अनि कसै गरि परिवेशले हुत्याईदिएर त्यहां अल्झाईदिएपछि, मन त्यहां पनि भुलिन्छ । हामी त्यसका पाटाहरु केलाउन थाल्दछौ । अब त्यो उस्तो बिरानो रहँदैन, अभ्यस्थ भईदिन्छौ ।

सरोज अपवाद थिएनन् । त्यहि माथी अफिस भनेको एउटा लत नै थियो । सरोजको यो लत झन् छिप्पिएको थियो । जति नै गाह्रो मानेर आए पनि सरोजले आफ्नै ढंगले काम शुरु गरे । हुन पनि उनको उमेर बितेको थियो ट्रान्सफर्मर, रिले अनि फिडरहरुमा, अलग कसरि रहन सक्दथे !

सरोजले अफिस बुझ्दै गए । हाकिम उस्ता खारिएका थिएनन् । निर्णय दिन समय लगाउने, लोसे । टेक्निसियन, लाईनम्यानको रुटिन र खटाई मा समस्या; ढिलो निर्णय गर्दा को प्रभावहरु; ग्राहक र प्राविधिक समस्याहरु , सवै थिए अफिसमा ।

कतै बस्दा एकै छिन खेलाएको ढुङ्गा त प्यारो हुन्छ, सरोज त झन गांसिएका थिए प्राधिकरण संग । उनले अफिसमा चाख लिदै गए । सरोज फुर्सद नै थिए । गेष्ट हाउसको बसाई, उनलाई प्रसस्त समय भयो । उनि अफिसमा नै रुमलिन्थे ।

हाकिम ठिटा थिए, प्राविधिक रुपमा दक्ष भएपनि, परम्परागत कर्मचारीतन्त्रलाई चलाउन नसकेको जस्तो देखे सरोजले । भन्ने, गर्ने केहि थिएन, चुप लागेर बसेरहे आफ्नो अवलोकन सँगै ।

नारायण सधै छिटो पुगेका हुन्थे । खाना खाएर हाजिर गर्न जांदा प्राय ढिलो हुन्थ्यो सरोजलाई । सरोज पुग्दा उनि हाकिम संग खास खुस मै हुन्थे । एक दुइ दिन त सामान्य नै लागेको हो तर हरेक पल्ट देख्दा, सरोजलाई खासै निको लागेन । पहिलेका कांचा नारायणको निकै चुरि फुरि बढेको पाए ।



दिनहरु छोटा हुँदै गए । खाना खाएर फर्कदा झमक्क रात पर्न थाल्यो । सरोजलाई समस्या नै हुन थाल्यो । रातबेरात बजार हुँदै एक्लै हिड्नु पर्ने । अनि सँधै जसो हाजिरमा ढिला हुने । फेरि उनी अझै गेष्ट हाउसमा नै बस्दथे । सरुवा भएका ईन्जिनियरले रवाना बुझेका थिएनन् । क्वार्टर खालि भएन । सरोजलाई अफ्ठ्यारो लाग्यो । डेरा बस्ने बिचार गरे । संयोगले खानाखाने ठाउँ नजिकै डेरा पनि भेटियो ।

सहयोगी नारायण नै थिए । एक वचन नसोधि बस्न अफ्ठ्यारो हुन्थ्यो । तर किन किन सरोजलाई नारायणसंग सोध्न मन नै भएन । साहै गाह्रो लाग्यो । उनि द्विविधामा परे ।

‘हेर्नु न नारायण जी, म त डेरा बसौं जस्तो लाग्यो, बेलुका फर्कदा पनि निकै अंध्यारो हुन्छ । यहां पनि गेष्ट हाउसको गेष्ट हाउस नै भईयो, अफिस पनि हाजिर लाई अबेर हुने-----“ एउटा मर्मतको काम मा प्रसंग मिलाएर उनले नारायण जी लाई आफ्नो विचार राखे ।

‘पर्दैन हो, सरोज जी । गेष्टहाउसमा बस्दा के भो त? आफ्नै ठाउँ हो, टर्च बाल्ने हिड्ने । केहि हुन्न । किन समस्या लिएको? अफिस ढिला भएर के भो त? हामी कुरो मिलाउँला नि ।‘ वरिपरि लाईनम्यान हरु थिए । ड्राईभर झन नजिकै थियो । सरोजलाई नारायणको कुरा भन्दा उनको खरो भाषा मन परेन । तह एउटै भएपनि सरोज नारायण भन्दा सिनियर थिए, काम को अनुभव पनि दक्षता पनि उनकै राम्रो थियो । नारायणलाई काम राम्रो संग सिकाएका पनि सरोज ले नै थिए । एक किसिमको हुकुम दिएको जस्तो लाग्यो ।

‘हाकिम लुरे भएर चाप्लुसी गरेर गोजीमा हालेको हुंदो हो, मलाई किन बढि अर्ति दिएर ठूलो बन्छ!' सरोजलाई रिस उठ्यो । तर सोझै मुख फर्काएनन् ।

‘होइन नारायण जी, तपाईको कुरो मनासिब हो, तर मलाई यहां अफ्ठ्यारो लाग्यो, त्यसै एकोहोरो गेष्टहाउसमा बस्न मन लागेन । आफ्नै डेरा भए, कोहि संग तल परिन्न नि!!’

सरोजले नारायणको सुझाव ठुक्क्राई दिए ।

‘ए भाई, त्यो बुसिङ्ग (bushing) राम्ररी कस त, लुज कनेक्सनमा स्पार्क हुन्छ । थाह छैन भने हामीलाई सोध, बढि जान्ने भएर काँचो काम नगर ।‘ स्टाफ संग खासै नझर्किने सरोज आज झर्किए । डेराको प्रसंग त्यसै मोडियो ।

पछि सरोजलाई खटपटि थयो । बेलुका निन्द्रा परेन । ‘चापलुसी गरेर के भयो त, कुरो त मेरै हितको गरेका हुन् । जाबो एक बर्ष बस्नु छ, जता बसे नि भै गयो । बित्थामा सम्बन्ध किन बिगार्नु!!’ उनको मन पोल्यो । नारायण जी संग झर्किन हुंदैन थियो ।

अब अर्को समस्या डेरा को भयो । बस्ने कि नबस्ने? त्यसै अफ्ठ्यारो । बैना बट्टा गरि सकेका थिए । फेरि, उनलाई धेरै दिन गेष्टहाउसमा बस्दा अफ्ठ्यारो जस्तो थियो । सरोज डेरामा नै बस्ने भए । खासै बिलासी मान्छे थिएनन्, सामान्य सर्जाम जुटाए ।

‘उनलाई सल्लाह दिनु थियो, दिए । मान्नु नमान्नु मेरो ईच्छा। मन लाग्यो डेरा बसे, उनको बिराउने केहि गरेको छैन् । उनलाई पर्दा मैले पनि उनलाई सहयोग गरेको हुं । म भन्दा साना मान्छे हुन्, ठूलो हुने काम केहि छैन । राम्रो संग बोलेकै छ । रिसाए मेरा बाख्रा हर्किदैनन् ।‘ सरोज आफैसंग खुकुलो भए ।

गेष्टहाउसमा बस्दा किन किन सरोजलाई दबेको जस्तो अनुभव थियो । डेराले उनलाई स्वतन्त्र बनायो ।



अफिस चल्दै गयो । नारायण जी र सरोजको व्यवहार, बोलिचाली सामान्य रह्यो । नारायण जी त्यति झ्याम्मीएर बोल्दैन थिए । सरोज पनि हुरुक्क भएर पछि लागेनन् । तर दुवै आवश्यक बोलचाल भइ रह्यो ।

बिस्तारै सरोजलाई अफिस खल्लो लाग्न थाल्यो । हाकिम बेला बेला काठमाण्डौं गईरहन्थे । अनि हर्ता कर्ता नारायण नै भएका थिए । कसलाई कता खटाउने, कसलाई के अह्राउने, नारायण नै हाकिमलाई सबै सुझाव दिन्थे । हाकिम पनि सजिलै त्यहि सुझावलाई आधार मानेर तोक लगाउँदथे । हाकिम संगको निकट्ताले हो वा व्यक्तिगत रवाफले, कर्मचारीहरु नारायणजी संग हच्किन्थे । सरोजलाई एक्लिएको अनुभव हुन थाल्यो । कति ठाँउमा प्राविधिक रुपमा मनासिव नहुने निर्णयहरु भईदिन्थे, सरोजलाई भन्न पनि अफ्ठ्यारो लाग्न थाल्यो । भन्न पनि सक्दैन थिए । उनि भित्र भित्रै गुम्सिदै गए । उनलाई खासै दायित्व पनि दिईएको थिएन् । अफिस सकेर छिट्टै डेर फर्कन थाले ।



दिनहरु बित्दै गए । सरुवा भएका ईन्जिनियरले रवाना लिए । उनको बिदाई कार्यक्रम थियो । हाकिम लगायत, ईन्जिनियर, लेखाका हाकिम अनि नारायण जी लाई अगाडि बोलाइयो । तर सरोजलाई अगाडि बस्न बोलाइएन । उनि पछिल्तिर नै बसे । सबैतिर नारायण कै रवाफ थियो । सबै कर्मचारी आफ्नै तालमा रमाएका थिए । सरोजलाई साह्रै नमज्जा लाग्यो । नारायणले पहिले देखि दुहबि मा काम गरेर के भयो त, तह त दुबैको बराबर हो, झन सरोज कति अनुभवी । सरोज बिदाईको पूरा समय पनि बस्न सकेनन् ।

सरोज केहि हप्ता आफै संग अल्झिए । दुहबीले उनलाई साह्रै पराई बनाईदियो ।

जागिरे जीवनमा यस्ता पनि अनुभव हुन्छन् जहाँ सुविधा र प्राप्ती भन्दा केहि मर्यादा प्रीय हुन्छन् । सहि गलत जुनै बाटो बाट आएका दाम; फकाईएका/मिलाईएका काज, प्रोजेक्ट, सरुवा, बढुवा भन्दा शिला शिला बटुलेका सम्मान नै प्यारा हुन्छन् । सरोजलाई त्यहि सम्मान मा घात पुग्यो । दुहबी बसाईका बाँकि अफ्ठ्याराहरु त तपसिलमा रहेकै थिए ।

निक्कै सम्झाए सरोजले आफूलाई । तर अंह सकेनन् । केहि न केहि त भन्नु पर्छ, समस्या पर्यो भन्दैमा म मुर्ति भएर त बस्दिन् । ‘पद अनुसारको , योग्यता, अनुभव अनुसारको कार्य निर्देष दिनुहोस’ हाकिमलाई यहि भन्ने निधो गरे ।

हाकिम केहि समय छिटो काममा आउँथे । एक बिहान उनि अलि छिट्टै अफिस गए, एकान्त पाईन्छ भनेर । नारायण जी हाकिम संगै रहेछन् । उनको कुरो मन मै तुह्‌यो ।

‘ओ हो सरोज जी आईपुग्नु भयो । म तपाईंकै काम गर्दै थिए । नारायण जी ले तपाईंको काम नगरी बस्न खान दिनु भएन । ३ महिनालाई बिना भत्ता काज मिलाईदिएको छु । फर्केर २ महिना बसिदिनु होला, नत्र युनियनले मलाई दु:ख दिन्छ । त्यसपछि जसरी भएपनि सरुवा गराईदिउँला । अरुलाई भए गर्दिन थिए, तपाई पुरानो भरपर्दो मान्छे, फेरि नारायण जी को यत्रो करकर ।“ सरोजलाई हाकिम ले ठूलै झट्का दिए ।

‘ल बधाई छ, सरोज जी’ नारायण ले हात मिलाउनलाई तेर्साईदिए ।

सरोज भाव शुन्य भएर नारायणसंग हात मिलाई रहे ।


समाप्त!

कथाकार: meaninglessthinkings@somewhereondearth

Please Give Us Your 1 Minute In Sharing This Post!
SOCIALIZE IT →
FOLLOW US →
SHARE IT →

Advertisement

Dignity Trekking and expeditions Nepal Travel Door Travels and Tours

0 comments:

Post a Comment

Online News From Nepal

Republica Feed

Popular Posts